Logo
५ जेठ २०८१, शनिबार

गौरीगङ्गा गोल्ड कप : कोहलपुर रेसिङ सेमिफाइनलमा

अक्षरपाटी
२०७९ चैत्र २२ , बुधबार ०७:०४ मा प्रकाशित

कैलाली । कैलालीको गौरीगङ्गामा जारी जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपमा बाँकेको कोहलपुर रेसिङ सहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधवार एपिएफको टोलीलाई ३–१ गोल अन्तरले पराजित गर्दै कोहलपुर रेसिङ अन्तिम चारमा पुग्न सफल भएको हो ।

खेलको १५ औँ मिनेटमै पेनाल्टी पाएर अग्रता बनाउन सफल भएको एपिएफ माथि रेसिङ सहारा क्लबले पुनरागमन जित निकाल्न सफल भयो।

डी बक्स भित्र रेसिङका खेलाडीको हातमा बल लागेर फल भएपछि पाएको पेनाल्टीमा एपिएफका आस तामाङले उक्त पेनाल्टीलाई गोलमा परिणत गरे।

त्यसपछि निरन्तर दबाबमा राखेको रेसिङका अविनाश थापाले खेलको २८ औँ र ८७ औँ मिनेटमा दुई गोल गरे। कृष्ण क्षेत्रीले पहिलो हाफको ४२ औँ मिनेटमा १ गोल गरे। खेलको प्लेयर अफ दी म्याच अविनाश चुनिए।

प्रतियोगिता अन्तरगत बिहीबार बाजुराको रानीवन क्लब र नेपाल पुलिसको टिम प्रतिस्पर्धा गर्नेछन् ।

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुने छ।

आयोजक गौरीगङ्गा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमहरूका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बलको टिमको गरी १० टिको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ।

सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ। साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ।

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए।