काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रका आधारभूत सूचकहरू सकारात्मक बन्दै गएको बताएका छन्।
प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा आन्तरिक र बाह्य क्षेत्रबाट परेको दबाबलाई कम गर्न सरकार गठन भएको दिनदेखि सरकार प्रयासमा रहेको बताए।
उनले सरकारले निरन्तर गम्भीर प्रयास गरेको कारण अर्थतन्त्रमा सुधारका संकेत देखिएको, ब्याजदर लगायतका समस्या हल हुने दिशामा गइरहेको बताए।
प्रधानमन्त्री दाहालले आज बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुसँग छलफल गर्दै अर्थतन्त्रमा विस्तारै सुधार हुँदै गएको बताएका हुन्।
छलफलका क्रममा अर्थतन्त्रमा देखिएका समस्या र चुनौती कतिपयले प्रचार गरेजस्तो नकारात्मक ग्राफतर्फ नभई सकारात्मकरुपमा उकालो चढिरहेको साझा निष्कर्श निकालिएको छ।
अर्थतन्त्रमा परेको दबाब कम गर्न अपनाइएका कतिपय उपायका कारण अहिले आर्थिक सूचकहरु सकारात्मक हुन पुगेको प्रधानमन्त्रीको भनाइ थियो।
उनले विदेशी विनिमयको सञ्चितिले १० महिनाभन्दा बढीको माग धान्ने उल्लेख गर्दै राजस्व संकलनमा पनि बिस्तारै सुधार देखिन थालेको बताए। बैंकको ब्याजदर घटाउनका आफूले गरेको पहलले अब चाँडै परिणाम देखिने प्रधानमन्त्रीले बताएका छन्।
प्रधानमन्त्री दाहालले भने, ‘हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दबावलाई सकारात्मक दिशामा लैजान सक्छौँ। संकटबाट उन्मुक्तिको यो नै वास्तविक रणनीति हो।’
सकारात्मक भाष्य अहिलेको आवश्यकता भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘नकारात्मकताले केही उपलब्धि हुँदैन। मात्रा मात्रामा सकारात्मक हुन सिकौँ। गुणात्मक खुसी अवश्य मिल्नेछ।’