बैतडी। बैतडीको पाटन नगरपालिका ८ को झौलेक नजिकै जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ।
सडकबाट पाँच सय मिटर तल खसेको जिपमा सवार ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने, पाँच जना हाम फालेर जोगिन सफल भएका छन्।
झलाघाटबाट बझाङको बागथला जान लागेको से १ ज ७६४ नम्बरको जिप हिजो राति ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाउने बझाङको एउटै गाउँका भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी छन्।
दुर्घटनामा मृत्यु भएकाहरुको शव बुधबार बिहानबाट निकाल्न सुरु गरिएको प्रहरीको भनाइ छ। अँधेरो र अप्ठेरो भीर भएका कारण बिहानबाट उद्धार थालिएको हो।