Logo
६ वैशाख २०८२, शनिबार

रक्तदान गरेर नयाँ वर्षको स्वागत

अक्षरपाटी
२०८० वैशाख २ , शनिबार ०८:०४ मा प्रकाशित

काठमाडौं। काठमाडौंमा केही युवाले रक्तदान गरेर नयाँ वर्षलाई स्वागत गरेका छन्।

नयाँ वर्षको अवसरमा रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा काठमाडौमा १४० जनाले रक्तदान गरेका हुन्।

उत्सव मनाउने एउटा अब्बल तरिका रक्तदान हो भन्ने धारणा बढ्दै गएकोमा केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले खुशी व्यक्त गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिंगदेनले थापागाउँ बानेश्वरमा युवा संगठनको आयोजनामा भएको रक्तदानमा नयाँ वर्षको अवसरमा पहिलो रक्तदान गरेका थिए।

यूवाहरुले नियमित रक्तदान गरुन् र नयाँ यूवाहरुपनि यसमा आकर्षित होऊन भन्ने आफ्नो अभिलाशा रहेकोले ८४ पटक रक्तदान गरेको उनले बताए।

रिडिङ रुम फाउण्डेसनले मध्य बानेश्वरमा, श्वेता रक्तदान अभियानले बसन्तपुरमा र शान्तिज्ञान सत्संग भजन मण्डलले डिल्लीबजारमा पनि युवा लक्षित रक्तदान कार्यक्रम आयोजना गरेका थिए।

टोखाको चण्डेश्वरी मन्दिरमा नयाँ वर्ष मनाउन गएका ३५ वर्षीय ज्ञानेश पौडेलले रक्तदान गरे। रक्तदान गरी नयाँ वर्ष सुरु गर्न राम्रो हुने सम्झेर आफूले रक्तदान जस्तो महादान गरेको ज्ञानेशको भनाइ थियो।

नयाँ वर्षको अवसरमा हिजो र आज उपत्यका र उपत्यका बाहिर रक्तदानका कार्यक्रम आयोजना भएको रेडक्रसका प्रादेशिक र जिल्ला रक्तसञ्चार सेवाहरुले बताएका छन्।