काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी अगाडि बढाउने बताएका छन्।
आज सपथ ग्रहणलगत्तै सिंहदरबारस्थिति आफ्नो कार्यालय पुगेर पदभार सम्हाल्दै मन्त्री साउदले अब प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारीमा लाग्ने बताएका हुन्।
मन्त्रालयका अधिकारीहरुसँग यसबारे छलफल गरेर प्रक्रिया अगाडि बढाउने उनको भनाइ थियो। वैशाखभित्र भारत भ्रमण गर्ने प्रधानमन्त्री दाहालको तयारी छ।
नवनियुक्त परराष्ट्रमन्त्री साउदलाई भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र मन्त्रालय पुगेर वधाइ दिएका थिए।
मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरुसँग सल्लाह गरेर प्रधानमन्त्री दाहालको भारत भ्रमणको कामलाई अघि बढाउने बताए। उनले नेपाललाई विश्वभर शान्तिप्रिय र लोकतान्त्रिक देशको रुपमा चिनाउन पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।