Logo
१३ वैशाख २०८१, बिहीबार

धनगढीका निजी विद्यालयले शुल्क बढाउन नपाउने, पाठ्यपुस्तक परिवर्तनमा रोक

अक्षरपाटी
२०८० वैशाख ५ , मंगलबार १०:०४ मा प्रकाशित

धनगढी। चालु शैक्षिकसत्रमा धनगढीका निजी विद्यालयले शुल्क बढाउन नपाउने भएका छन्।

धनगढी उपमहानगरपालिकाको नगर शिक्षा समितिको बैठकले निजी विद्यालयले चालु शैक्षिक सत्रमा शुल्क वृद्धि गर्न नपाउने निर्णय गरेको हो।

समितिको चैत २४ गते बसेको बैठकले त्यस्तो निर्णय गरेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए।

निजी विद्यालयले शैक्षिकसत्र २०७९ मा कायम गरेको शुल्क नै यथावत राख्नुपर्ने समितिले निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ।

निजी विद्यालयले पाँच वर्षसम्म पाठ्यपुस्तक पनि परिवर्तन गर्न नपाउने निर्णय समितिले गरेको छ।

निजी विद्यालयले हरेक बहानामा वर्षेनी शुल्क बढाउने र विभिन्न पब्लिकेशनको प्रलोभनमा पाठ्यपुस्तक परिवर्तन गर्नाले त्यसको मार अभिभावकले व्यहोर्दै आएका छन्।

त्यो मात्रै होइन विभिन्न पब्लिकेशनले शैक्षिक गुणस्तरभन्दा नाफामुखी पाठ्यपुस्तक छापेर वर्षेनी परिवर्तन गर्न लगाउने गरेका कारण शैक्षिक स्तरमा पनि एकरुपता नभएको गुनासो बढ्दै गएको छ।

चालु शैक्षिकसत्रमा कुनै पनि निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा कारबाही गर्ने धनगढी उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरको उक्त निर्णयलाई लिएर अभिभावकहरुले स्वागत गरेका छन्।

धनगढी उपमहानगर