कन्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रमा निर्माणाधीन हुलाकी सडक निर्माणमा भारतीय पक्षले अवरोध सिर्जना गरिरहेको घटना नयाँ होइन।
पछिल्लो समय सोही क्षेत्रको पुँचईमा नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन विस्तार गर्न खोज्दा पनि भारतीय सीमा सुरुक्षा बल एसएसबीले अवरोध सिर्जना गरेको छ।
एकपछि अर्को विकास कार्यक्रममा भारतले बलमिच्याइँ गरेपति कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको संयुक्त टोली सो क्षेत्रको स्थलगत निरिक्षणमा पुगेको छ।
भारतले करिब ११ सय हेक्टर नेपाली भूमिलाई स्ट्रीप नक्सामा समावेश गरेर आफ्नो भएको दाबी गर्दै आएको छ। यस क्षेत्रका सीमाबासी नागरिक आफूहरुको लालपूर्जा भएको जमिन के हुने भन्ने चिन्तामा छन् भने भारतीयको अवरोधले विकास रोकिन्छ कि भन्ने पीरमा छन्। तर सरकारले भने दुई पक्षीय वार्तामार्फत समस्या समाधानको उपाय खोजेको छैन।
पछिल्लो समय कञ्चनपुरकै प्रतिनिधि एनपी साउँद परराष्ट्रमन्त्री नियुक्त भएकाले सीमा क्षेत्रमा भारतीय पक्षबाट हुने ज्यादतीबारे केन्द्रस्तरबाटै समाधानका लागि पहल हुनेमा यहाँका बासिन्दा आशाबादी छन्।