Logo
२५ पुस २०८१, बिहीबार

मतदान सम्पन्न, चितवन र तनहुँमा मतप्रतिशत घट्यो, परिणाम १२ वैशाखभित्र

अक्षरपाटी
२०८० वैशाख १० , आईतबार ०७:०४ मा प्रकाशित

काठमाडौं। निर्वाचन आयोगका अनुसार चितवन २, बारा २ र तनहुँ १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ।

उपनिर्वाचनमा औसत ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान आयोगले गरेको छ। आज भएको तीन क्षेत्रको उपनिर्वाचनमा बारा २ मा ६४ प्रतिशत, चितवन २ मा ६३ प्रतिशत र तनहुँ १ मा ५३ प्रतिशत मत खसेको छ।

उपनिर्वाचनमा चितवन २ मा करिब ४ प्रतिशत र तनहुँ १ मा १ प्रतिशत मतदान कम भएको हो।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा जिल्ला २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

मतदान सम्पन्न भएका सबै मतदान स्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ। भने आजैबाट मतगणना सुरु गरेर वैशाख १२ गतेभित्र मत परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ।