Logo
२५ पुस २०८१, बिहीबार

कांग्रेसका गोविन्द भट्टराईले देखाए उच्च लोकतान्त्रिक सँस्कार, भनेः विश्वासयोग्य बन्न प्रयास गर्नेछु

अक्षरपाटी
२०८० वैशाख ११ , सोमबार ०९:०४ मा प्रकाशित

काठमाडौं। प्रतिनिधिसभा उपनिर्वाचनको मतपरिणाम आउँदैगर्दा तनहुँ १ मा सत्तागठबन्धकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आफूलाई मत दिने र नदिने सबैप्रति आभार व्यक्त गरेका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीकोभन्दा कम मत परिणामलाई सहज रुपमा लिँदै सामाजिक सञ्जालमार्फत उच्च लोकतान्त्रिक सँस्कार देखाउँदै भनेका छन्, ‘हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ। पदमा नरहे पनि तपाईंको पीडाले मलाई छोइरह्यो।’

आफू विपि कोइरालाको अनुयायी भएको उल्लेख गर्दै उनले स्ट्याटसमा लेखेका छन्, ‘ठूला आदर्शभन्दा तपाईंको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर विपिको समाजवादबाट प्रेरित भएँ। चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ। यसक्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उप निर्वाचनमा उम्मेदवार बनाउँदा तपाईंसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ।’

उनले आफूले पाएको कम मतलाई सहज रुपमा स्वीकारेका छन्। र भनेका छन्, ‘मलाई विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने तपाईं सबैप्रति आभार प्रकट गर्दछु।’

चुनावी घरदैलोका क्रममा आफ्नो विगतप्रतिको जनताको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको कुराले सानो खुशी दिलाएको उल्लेख समेत उनले गरेका छन्।

उनले आफूलाई विश्वास नगर्नेप्रति पनि आभार व्यक्त गरेका छन्। त्यसलाई उनले सुधारको पक्षका रुपमा स्वीकारेर सिंगो पार्टीलाई लोकतान्त्रिक सँस्कारको सन्देश दिँदै भनेका छन्, ‘मप्रति विश्वास नगर्नुहुनेप्रति पनि आभार प्रकट गर्दछु। सायद, तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ। तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’