काठमाडौं। काठमाडौंबाट उड्ने वित्तिकै इन्जिनमा खराबी आएको फ्लाई दुबैको विमान काठमाडौंमा आकस्मिक अवतरण हुने सम्भावना घटेको छ।
विमान कपिलवस्तुको आकाशमा देखिएको र पाइलटले आकस्मिक अवतरणको सूचना नदिएको विमानस्थल स्रोतले जनाएको छ।
काठमाडौंबाट १६७ जना यात्रु बोकेर ९ बजेर २१ मिनेटमा उडेको विमानको एउटा इन्जिनमा खराबी आएको र आगो लागेको देखिएको तस्बिरहरु भाइरल भइरहेका छन्।
पाइलटले विमान भारतमा अवतरण गराउने मनसाय बनाएको हुनसक्ने अनुमानहरु पनि गरिएका छन्। मर्मतलगायतको सुविधालाई हेरेर भारतमै अवतरण गराउने योजना बनाएको हुनसक्ने अडकलहरु गरिएका छन्।
केहीबेर ललितपुरको आकाशमा घुमेको विमान भैरहवाको आकाशमा देखिनुले पनि त्यसखाले अनुमानलाई बल पुगेको छ।