Logo
१३ वैशाख २०८१, बिहीबार

विद्यालयको नाम र चिन्हमा एकरुपता कायम गर्दै काठमाडौं महानगर

अक्षरपाटी
२०८० वैशाख १७ , आईतबार ०८:०४ मा प्रकाशित

काठमाडौं। काठमाडौंमा सञ्चालित विद्यालयहरुको नाम र चिन्हमा एक रुपता कायम गर्नुपर्ने भएको छ।

महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै काठमाडौंमा सञ्चालित विद्यालयको चिन्ह षट्कोण हुनुपर्ने र त्यसभित्र आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सकिने जनाएका छन्।

त्यस्तै उनले नाम राख्दा समाज र राष्ट्रका लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी, देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नाम राख्न भनेका छन्।

उनले पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा त्यस विद्यालयमा एकतिहाइ विद्यार्थी पूर्ण छात्रर्वत्तिमा अध्ययनरत रहेको कुनुपर्ने, संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शब्द जोड्न चाहेमा कम्तीमा २५ जिल्लाको विद्यार्थी अध्ययनरत हुनुपर्ने, इन्टरनेसनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी विदेशी हुनुपर्नेलगायतका सर्त महानगरले अघि सारेको छ।

बालेनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचना

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिन्हका बारेमा एकरुपता ल्याउन खोजेको छ ।

जानकारीका लागि

६९. विद्यालयको चिन्हः विद्यालयको चिन्ह षट्कोणको हुनेछ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सक्नेछ ।
७०। विद्यालयको नामाकरणः (१) समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्नेछ ।

तर यो नियम प्रारम्भ हुनुभन्दा अगाबै यस नियम विपरीत नामाकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखिनै लागू हुनेगरी पुनःनामाकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने छ ।

(२) कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रबृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ, कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शव्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ । विद्यालयको नामको अन्तमा विद्यालय स्कुल वा पाठशाला शव्द जोडिएको हुनुपर्नेछ ।

तर यो उपनियम लागू हुनु अगाबै यस नियम विपरीतका शव्दहरू जोडेर नामाकरण भै सकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षिक–सत्रको सुरु देखिनै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामाकरण गर्नुपर्नेछ ।

यसैले यी नियमको पालना गर्दै विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याएर मौलिक र मापदण्ड अनुरुप रहन आग्रह गर्दछौँ । नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने व्यहोरा जानकारी गराउँदछौँ।

काठमाडौं महानगर बालेन शाह