Logo
४ वैशाख २०८१, मंगलबार

एसिया कप क्रिकेटमा नेपालको स्थान सुरक्षित

अक्षरपाटी
२०८० वैशाख १९ , मंगलबार १२:०५ मा प्रकाशित

रोहित गिरी

काठमाडौं। एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको छ।

योसँगै नेपालले यस वर्ष अयोजना हुने एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित बनाएको हो।

यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३० दशमलव ३ ओभरमा पुरा गरेको छ। नेपालका लागि गुल्शन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे।

२२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट नेलालाई उकास्दै उनीहरुले जितसम्म पुर्याएका हुन्। गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धशतक बनाएका छन्।

नेपालका तीन ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा गुलसन झाले ८४ बल खेल्दै ३ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ६७ रनको अविजित इनिङ खेले। त्यस्तै भीमले ७२ बल खेल्दा ४ चौकाको मद्दतमा ३६ रन बनाए।

यूएईका रोहन मुस्तफाले १० ओभरमा ३ मेडन राख्दै १३ रन खर्चिएर सर्वाधिक २ विकेट लिए। आयान अफजल खानले १ विकेट लिए।

वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र यूएईसहित १० राष्ट्रको सहभागिता थियो।

नेपाल रहेको समूह ए मा मलेसिया, कतार, साउदी अरबिया र ओमान थिए। यूएईको समूह बी मा कुवेत, हङकङ, बहराइन र सिंगापुर थिए।

नेपालले पहिलो समूह चरणको खेलमा मलेसियालाई ६ विकेटले हराउँदा दोस्रोमा ओमानलाई ८४ रन र तेस्रो खेल वर्षाका कारण अवरुद्ध हुँदा नेपाल साउदीसँग अंक बाँड्दै एक खेल अगावै सेमिफाइनल पुगेको थियो।

समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै समूह विजेता बन्यो।

सेमिफाइनलमा कुवेत प्रतिद्वन्दी पाएको नेपाल वर्षाकै कारण पुरा खेल हुन नसक्दा समूह विजेताको हैसियतले फाइनल पुगेको हो।

यूएईले समूह चरणको पहिलो खेलमा कुवेतलाई १ सय ४३ रनले पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो।

दोस्रो खेलमा हङकङले यूएईलाई डीएल मेथडमा ६७ रनले पराजित गर्यो।

तेस्रो खेलमा सिंगापुरलाई २ सय १ रन र समूह चरणको अन्तिम खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै यूएईले सेमिफाइनल यात्रा तय गरेको थियो ।

सेमिफाइनलमा यूएई ओमानलाई डीएल मेथडमा २ रनले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो।

यो जितसँगै नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा स्थान पक्का गरेको छ।