काठमाडौं। नेपाली कांग्रेसबाट मन्त्री बनेको तीन जनाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिएका हुन्।
उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका थिए। राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा उनीहरुलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका थिए।
शपथ समारोहमा अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी कर्मचारीलगायतको सहभागिता थियो।
शपथलगत्तै तीनै जना मन्त्रीले आजै पदभार ग्रहण गरेका छन्।