काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।
आज बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले वर्तमान सरकारमा नजाने निर्णयसहित सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको हो।
पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा सहभागी भएको थियो।
पार्टी सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सांसद पद गएपछि रास्वपाले सरकार छाडेको थियो।
रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै दाहालले तेस्रोपटक विश्वासको मत लिनुपर्ने भएको छ।
आम जनताले आफूहरुसँग धेरै अपेक्षा गरेकाले अहिले सत्ताको खेलमा धेरै नलाग्ने पार्टी सभापति लामिछानेले बताए। उनले पत्रकारलाई जवाफ दिँदै आफू सरकार ढाल्ने र बनाउने खेलभन्दा पनि रचनात्मक प्रतिपक्षका रुपमा भूमिका खेल्ने बताए।
उनले जनजीविकाका कुरा, भ्रष्टाचारका मुद्दामा केन्द्रित हुने बताए। उनले अहिले भएका संरचना देशले धान्न नसक्ने बताउँदै भने, प्रदेश, जिल्ला समन्वयदेखि मन्त्रालयका संरचनाहरु देशको अर्थतन्त्रले धान्नै नसक्ने बताए।