काठमाडौं। आजबाट संघीय संसद भवन नयाँवानेश्वरमा प्रतिनिधिसभाको बजेट अधिवेशन सुरु भएको छ।
दिउँसो सुरु भएको बजेट अधिवेशनको पहिलो दिनको बैठकमा सांसदहरुले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने ठगी धन्दालगायत भ्रष्टाचारका विषयमा आवाज उठाएका छन्।
बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद डा आरजु राणा देउवाले आफ्नो नाम ईंगित गरेकोमा आक्रोस व्यक्त गरिन्। उनले आफू नभएको अवस्थामा र आज पनि आफ्नो नाम भ्रष्टाचार मुद्दामा जोडेर प्रचार गर्न खोजेको भन्दै आक्रोसित भइन्।
उनले एउटा नारीले राजनीतिक हैसियत बनाउँदै गरेको पुरुषप्रधान सोच बोकेकाहरुलाई सैह्य नहुने गरेको बताइन्।
उनले संसदमा बोलिन–
भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति सिरियस छौं भन्ने ठूलो प्रश्न उठेको छ । म नभएको दिन मेरो नाम ईंगित गरेर अनेक प्रश्न उठाइएकोप्रति मेरो आपत्ति छ । आज पनि उठेको पाएको छु। एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको सैह्य हुँदैन रहेछ।
पुरुषले भनेको ठाउँमा मात्रै नारी बस्नुपर्ने, पुरुषकै भाष्य बोल्नुपर्ने। नारी सार्वजनिक जीवनमा आयो भने पुरुषलाई असैह्य हुने। यो परिस्थिति छ। यो नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय जगतमा पनि छ। हो त्यसैको खिलाफमा हो संविधान लेखेको। यसका लागि जसले जति आलोचना गरे पनि… मैले केही बिराको छैन। डराउँदिन।
हामी सम्पत्ति विवरण बुझाउँछौं। मेरो श्रीमान ५–६ चोटि प्रधानमन्त्री हुनुभएको छ। मेरो लगायत, हाम्रो सम्पत्ति विवरण नेपाल सरकारसँग सुरक्षित छ। म अनुरोध गर्छु, जति सांसद छौं, सबैको सम्पत्ति विवरण प्रकाशित गरेर वेवसाइटमा राखियोस। जनताले देखोस, कसको सम्पत्ति बढ्यो, कति बढ्यो, स्रोत के हो ? इन्डियामा हरेक महिना जुडिसियलका कर्मचारीले आफ्नो सबै हिसाब डिक्लियर गर्नुपर्छ। हरेक महिनाको बिल बुझाउनुपर्छ। हामी त्यो कानून ल्याउन सक्छौं? अरुलाई होच्याउन पाए जे बोल्ने?बोलेर हुन्छ ?