Logo
२४ पुस २०८१, बुधबार

कांग्रेसको निर्णय प्रक्रियालाई लिएर गगन थापाको चरम असन्तुष्टि

अक्षरपाटी
२०८० वैशाख २४ , आईतबार ०८:०५ मा प्रकाशित

काठमाडौं। कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको निर्णय प्रक्रिया र पद्धतिलाई लिएर चरम असन्तुष्टि व्यक्त गरेका छन्।

पुराना पार्टीहरुको व्यवहार, पद्धति, निर्णय प्रक्रिया र नेताहरुको व्यवहारप्रति आम रुपमा आलोचना भइरहेका बेला पार्टीको जिम्मेवार पदमा बसेका पदाधिकारीबाटै चरम असन्तुष्टि पोखिएको हो।

नेपाली कांग्रेसले पार्टीकातर्फबाट आइतबार चौथोपटक प्रतिनिधि पठाउँदा सुरेन्द्र आचार्यलाई सरकारमा पठाएलगत्तै महामन्त्री थापाले असन्तुष्टिपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

आइतबार साँझ सामाजिक सञ्जालमा महामन्त्री थापाले पार्टीमा देखिँदै गएको एकपक्षीय निर्णयको आलोचना गरेका छन्। उनले आफू पार्टीको जिम्मेवारीमा पुगेपछि चित्त नबुझेको कुरा पनि पदीय मर्यादाका कारण प्रतिरोधको साटो सुधारेर जाने कोसिसमा लागेको स्मरण गराएका छन्।

उनले लेखेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले पार्टीमा प्रवेश नै पाएनन्।’

धेरैपटक प्रतिरोध गर्ने सोचे बनाए पनि पदीय हैसियतका कारण सीमा नाघ्न नसकेको उनले लखेका छन्। अब त अति भएको पनि उनले उल्लेख गरेका छन्।

‘धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडें, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो’, थापाले सामाजिक सञ्जालमा लेखेका हुन्।

थापाले सरकारमा पार्टीको तर्फबाट पठाउने विषयमा मापदण्ड बनाउनुपर्ने र क्षमताका आधारमा अवसर दिनुपर्ने लगाएका अडान राख्दै आएका थिए। तर सभापति देउवाले उनी र उनको समूहमा रहेका नेतासँग सहमतिबिना नै सरकारमा जाने व्यक्ति छनोट गर्दै पठाएका थिए।