Logo
२९ वैशाख २०८२, सोमबार

किसान, उद्यमी र उपभोक्तालाई जोड्ने उद्देश्यले आजदेखि बजारमा ‘आरजु’ चामल

अक्षरपाटी
२०८० वैशाख २८ , बिहीबार ०६:०५ मा प्रकाशित

काठमाडौं। बुद्ध एयरको रजत जयन्ती मनाउन सफल व्यवसायी वीरेन्द्रबहादुर वस्नेतको अगुवाइमा ‘आरजु राइस’ ब्रान्डको चामल आजदेखि बजारमा आएको छ।

करिब दुई दशकदेखि खेतीकिसानीमा सहजीकरण गर्दै आएको मोरङ बेलबारीस्थित आरजु राइस मिलले विभिन्न ब्रान्डाका ‘आरजु’ चामलको आजदेखि बिक्रीवितरण शुभारम्भ गरेको हो।

बस्नेतकी छोरीको नामबाट स्थापित अत्याधुनिक मिलबाट आरजु राइसको गुणस्तरीय उत्पादन बारे आम उपभोक्ता, विक्रेता लगायतलाई जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा किसानहरुले मिलको स्थापनासँगै आफूलाई कृषि उत्पादनमा बीउविजन, प्राविधिक र यान्त्रिक सहयोग मात्र होइन, उत्पादनलाई कहाँ बेच्ने भन्ने चिन्ता पनि कम भएको अनुभव सुनाए।

प्रतिनिधि किसानले आरजु मिलले उद्यमी, सरकार, उपोक्ता र किसानबीच सम्बन्ध विस्तार गर्ने काम गराइदिँदा किसानको गरिबी निवारणमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

आरजु राइस मिलसँग मोरङको बेलबारीमा मात्रै चालिस हजार विगाह जमिनका किसान जोडिएको संस्थापक बीरेन्द्र बहादुर बस्नेतले बताए।
‘निर्वाहमुखी खेतीकिसानीलाई व्यवसायिक र आम्दानीमुलक बनाउनुपर्छ भन्ने अवधारणाका साथ आरजु राइस मिल सुरु भएको हो’, संस्थापक बस्नेतले भने,‘हामी उत्साहित छौँ, हामी नेपाली किसानलाई अगाडि बढाउन प्रतिवद्ध छौँ, भारतबाट धान खरिद गर्दैनौँ।’

नेपाली किसानले नै उत्पादन गरेको धानको चामल नेपाली उपभोक्तालाई खुवाउन सकियोस भनेर अत्याधुनिक राईस मिल सञ्चालनमा ल्याएको उनले सुनाए।

सरकारले पनि समर्थन मूल्य तोकेर किसानको उत्पादन खरिद नगरिहेको बेला मिलले भने सरकारकोभन्दा राम्रो मूल्य तोकेर किनिदिने मात्र होइन, बीउबिजन, यान्त्रिक र प्राविधिक सहयोग गर्दै आएकाले आफू उत्साहित भएको किसान दिव्यराज खतिवडाले बताए।

‘किसानका धानलाई न्यूनतम् समर्थन मूल्य तोकी धान प्राप्त भएको दुई दिनभित्रै खातामा रकम हस्तान्तरण गरेका छौँ । अहिलेसम्म हमीले दुई सिजन गरी १० औँ करोड रकम रुपैयाँ किसानको खातामा हालिसकेका छौँ’, संस्थापक बस्नेतले भने, ‘अहिले हाम्रो कार्यक्रममा चार हजार बिघाका हजारौँ किसानहरु आबद्ध हुनुहुन्छ।’

राम धानबाट निर्मित आरजु राइसको मूल्य प्रति किलो १ सय ३० तोकिएको छ । अध्यक्ष बस्नेतले भने, ‘निजी क्षेत्र र स्थानीय सरकार मिलेर सहकार्य गर्न सकेमा किसान र उपभोक्तालाई पनि सहुलियत हुनेछ ।’

कृषिको कार्यक्रममा सरकारको भरपूर्ण सहयोग मिल्ने नेपाल कृषि केयरका डाइरेक्टर डाक्टर रामचन्द्र खनालले। ‘किसान र उपभोक्तालाई कसरी सहुलियत दिने, भारतको धानलाई कसरी रोक्ने र नेपालको धानलाई नै प्रयोग गर्ने भन्ने अठोटका साथ आरजु राइस मिलले सरकारसँग मिलेर काम गरिरहेको छ’, उनले भने।

कोसी प्रदेशका कृषि मन्त्रालयका सचिव मेघनाथ तिमिल्सनाका अनुसार निजी क्षेत्र र सरकार मिलेर अगाडि बढेमा किसान र उपभोक्तालाई सहुलियत दिन सकिने बताए। उनले भने, ‘आरजुको चामल अहिले सहकारीले बेचिरहेको मूल्य भन्दा कममा पाइएको छ। यो भनेको किसानले आफ्नो खेतीको मूल्य पाउने हो र खेतीका लागि चाहिने मल, बीउ, यन्त्रको सहुलियत सरकारले सहयोग गर्दै आएको छ।’

तर कृषि तथा पशुपन्छी विकास मन्त्रालय बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठका अनुसार कृषिमा सरकारले छुट्याएको जम्मा बजेटको ६० प्रतिशत रकम मलमै जाने गरेकाले किसानलाई अन्य कुरामा सहयोग गर्न नसकेको बताए।

उनका अनुसार प्रदेशमा ७५ लाखदेखि १ करोडसम्मको कृषिमा अनुदान व्यवस्था गरिएको छ। ‘निजी क्षेत्रसँग सहकार्य नगरेसम्म कृषि माथि उठ्न सक्दैन र त्यसको प्रभावकारी भूमिका आरजु राइस मिलले खेलेको छ’, उनले भने, ‘राइस मिलको मोडल अन्य क्षेत्रले अनुसरण गर्न सके नेपाली किसान मात्र होइन देश नै आत्मनिर्भर हुने सम्भाना छ।’