Logo
७ वैशाख २०८१, शुक्रबार

ईआईए प्रतिवेदन स्वीकृत भएसँगै दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने पक्का

अक्षरपाटी
२०८० वैशाख २९ , शुक्रबार ०७:०५ मा प्रकाशित

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह निर्माण हुने पक्का भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।

नगरपालिकाको वडा नम्वर १, २ र ३ मा एकीकृत सुरक्षा जाँच चौकीसहितको सुक्खा बन्दरगाह निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन प्रस्ताव स्वीकृत भएसँगै बन्दरगाह निर्माणको बाटो खुलेकोमा लेखकले खुशी व्यक्त गरेका छन्।

जिल्लाको दोधारा चाँदनी नगरपालिका १ मा रहेको गौरीशंकर मध्यवर्ती सामुदायिक वनको ११७ हेक्टर वन क्षेत्रमध्ये ६३ हेक्टर जग्गामा आयोजनाको तयारी कार्य प्रारम्भ गर्न वैशाख १७ गते प्रधानमन्त्री एवं वन तथा वातावरण मन्त्रीस्तरको निर्णयबाट स्वीकृत भएको हो।

लेखक २०७० को निर्वाचनमा जितेर लेखक भौतिक पुर्वाधार तथा योजना मन्त्री बनेपछि बन्दरगाह निर्माणका लागि पहल थालेका थिए।

सो स्वीकृतिसँगै सुदूरपश्चिम प्रदेशमा व्यापार सहजीकरणका लागि आधुनिकस्तरको एकीकृत जाँच चौकीसहितको सुक्खा बन्दरगाह निर्माणको ढोका खुलेको उनले सामाजिक सञ्जालमा लेखेका छन्।

स्वीकृत भएको उक्त क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणको पहिलो चरणको कार्य हुनेछ। सो बन्दरगाह आयोजना नेपाल सरकारबाट राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा स्वीकृत छ।

बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका १, २ र ३ मा पर्ने मायापुरी सामुदायिक वन उपभोक्ता समिति र गौरीशंकर सामुदायिक वन उपभोक्ता समितिले चर्चेको करिब २८० बिघा जग्गा पहिचान गरिएको थियो।

बन्दरगाह निर्माण गर्न स्थानीय निकाय, सामुदायिक वन उपभोक्ता समिति लगायत सबै निकाय एवः क्षेत्रबाट सहमति जुटेको छ।

प्रस्तावित क्षेत्रको वातावरणीय प्रभावहरुलाई न्यून गर्नका लागि न्यूनीकरणका उपायहरु लागू गरिनेछ।

जसमा ड्रेनेज आउटलेट व्यवस्थापन, उत्सर्जित सामग्रीलाई सुरक्षित ढंगले विसर्जन, भौतिक संरचनाको पुनस्र्थापना, वृक्षारोपण, सडक सुरक्षा संकेत, आदि मुख्य हुन्।

उक्त क्षेत्रमा वन्यजन्तुका संवेदनशील वासस्थान र बसाइसराइका बाटो समेत नपर्ने हुनाले जैविक विविधतामा पर्ने नकारात्मक प्रभाव समेत वातावरणीय व्यवस्थापन योजनाले न्यूनीकरण तथा रोकथाम गर्न सक्नेछ।

वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत प्रतिवेदन अनुसार उक्त सामुदायिक वन क्षेत्रमा पर्ने १ हजार ९८९ वटा रुखहरु काट्नुपर्नेछ।

त्यसका लागि क्षतिपूर्ति वापत १ लाख ५० हजार ५२५ वटा विरुवा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति तथा नगरपालिकासँग समन्वय गरी रोपिनेछ। बन्दरगाह निर्माणका लागि नेता लेखकले पटकपटक प्रधानमन्त्रीसँग समन्वय गरेका थिए।

भारत सरकार पनि सकारात्मक भएकाले यसकाे निर्माणमा भारत सरकारका तर्फबाट तुरुन्तै पहल हुने विश्वास लेखकले व्यक्त गरेका छन्।

रमेश लेखक सुख्खा बन्दरगाह