कैलाली। कैलालीको विकट पहाडी गाउँपालिका चुरेमा जनप्रतिनिधि र कर्मचारी नभेटिने गुनासो बढेको छ।
स्थानीय युवाहरुले गाउँपालिकामा समयमा कर्मचारी नभेटिँदा एक दिनमा हुने कामका लागि हप्तौ लाग्ने गरेको गुनासो सामाजिक सञ्जालमार्फम गरेका छन्।
स्थानीय गणेशनाथ योगीले सामाजिक सञ्जालमा आफू १२ बजेर २२ मिनेटमा चुरे गाउँपालिकाको कार्यालय पुग्दा कर्मचारी र जनप्रतिनिधि कोही सहजपुर, कोही खानीडाँडा त कोही गोदावरी गएको खबर पाएको सामाजिक सञ्जालमा लेखेका छन्।
उनले कार्यालय समय विहान १० बजेदेखि ३ बजे भए पनि १२ बजेर २२ मिनेटमै कोही नभेटिनु जनताको वेवास्ता भएको भन्दै सम्बन्धित निकाएको ध्यानाकर्षण गराएका छन्।
त्यस्तै करण ठगुन्नाले चुरेका धेरैजसो कार्यालय (वडा पनि) मा कर्मचारी नभेटिने, जनप्रनिधि नहुने गुनासो गरेका छन्। उनले गाउँपालिका मात्र होइन, स्कुल, स्वास्थ्य इकाइ, वडामा पनि कर्मचारी र जनप्रतिनिधि नभेटिने गुनासो पोखेका छन्।
उनलेमा एक दिनमा हुने कामका लागि ४, ५ दिन धाउँदा होस आउने कुरा उल्लेख गरेका छन्। सामान्यदेखि महत्वपूर्ण सिफारिस लिन अध्यक्षदेखि कर्मचारीलाई खोज्दै बजार बजार हिँड्नुपर्ने कुरा पनि उल्लेख गरेका छन्।
साविक निगाली, खैराला र सहजपुर गाविस जोडेर बनाइएको चुरे कैलालीको सबैभन्दा विकट पहाडी गाउँपालिका हो। जहाँ एउटा वडाबाट अर्को वडा पुग्न अहिले पनि दिन, दुई दिनको बाटो हिँड्नुपर्ने वाध्यता छ। वर्षेनी ट्याक खोलिने सडकहरुमा नाली नबनाइँदा हरेक वर्षामा बगेर जानेर बाटो झनै भताभुङ्ग हुने गुनासो पालिकाले सुन्ने नगरेको स्थानीय बताउँछन्।
स्थानीय तपेन्द्र चुनाराले पनि चुरेमा मनपरी हुने गरेको गुनासो सामाजिक सञ्जालमा गरेका छन्। उनले कामको फाइल बोकेर जाँदा एक दिनमा हुनुपर्ने काम एक महिनासम्म पनि लाग्ने गरेको उल्लेख गरेका छन्।
विकास निर्माणमा पनि स्थानीय जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आफन्त, नातागोता र कार्यकर्तालाई योजना दिइने गरेको गुनासो पनि स्थानीयले गर्दै आएका छन्।
विकास निर्माणका योजना स्थानीयको सुविधाका लागि भन्दा नजिकका टाठाबाठाको कमाउधन्दाका लागि अगाडि बढाइने गरेको गुनासो बढ्दै गएको छ।
पालिकाले किसानका लागि वितरण गर्ने क्रेटदेखि कृषि सामग्रीमा समेत अनियमितता हुनेगरको गुनासो यसअघि पनि बाहिरिसकेको छ।