Logo
४ वैशाख २०८१, मंगलबार

राष्ट्रिय वाणिज्य बैंकद्वारा राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा अफिसियलको सम्मान

अक्षरपाटी
२०८० जेठ १० , बुधबार ०४:०५ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मान गरेको छ।

टोलीको सम्मानार्थ तथा अझै उच्च सफलतामा उत्प्रेरणा प्रदान गर्न राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरुलाई एक समारोहकाबीच सम्मान गरेको हो।

हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरुलाई जनही एक लाख रुपैंया र ८ जना टिम अफिसिलयलहरुलाई जनही ५० हजार रुपैंया नगद राष्ट्रिय वाणिज्य बैंकले प्रदान गरेको हो।

नेपालले हालै सम्पन्न डिभिजन २ को प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरी विश्वकप छनौट खेलमा सहभागी हुने अवसर पाउनुका साथै अन्तर्रािष्ट्रय एकदिवसीय क्रिकेट खेल्ने मान्यता कायम राख्न सफल भएको थियो।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष एवं प्रमुख अतिथि डा. बलराम पाठकले खेलाडी तथा टीम अफिसिलयहरुलाई सम्मान गर्दै नेपाललाई विश्वमा चिनाउने क्षेत्रमा क्रिकेट पनि थपिएको बताए। उनले आगामी दिनमा पनि सहयोग गर्न सकिने जानकारी दिए।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्तर्रािष्ट्रय रुपमा क्रिकेटले राष्ट्रको नाम उँचो बनाएको यो क्षण गौरबपूर्ण भएको बताउँदै अन्य खेलकुदलाई पनि बैंकले सहयोग गरको बताए।

क्रिकेट एशोसिएसन अफ नेपाल(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्रािष्ट्रय रुपमा नेपालको नाम क्रिकेटले चिनाएको बताउँदै बैंकको सहयोगले आगामी दिनमा अगाडि बढ्न हौसला मिलेको धारणा राखे।

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले भने, ‘देशको लागि खेल्ने मेरो सपना त वास्तवमा हामी सबैको सपना रहेछ, पूरा गर्न पाएकोमा खुशी लागेको छ।’

कार्यक्रम मार्केटिङ्ग विभागका विभागीय प्रमुख अच्युत गौतमले सञ्चालन गरेका थिए। कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु, नायव प्रमुख कार्यकारी अधिकृतद्धय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, बैंकमा क्रियाशिल तीनवटै ट्रेड यूनियनका अध्यक्षहरु क्रमशः रावा बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रावा बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रावा बैंकका उपाध्यक्ष जितेन्द्र राई, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धक, मुख्य शाखा कार्यालयका प्रबन्धक, कर्पोरेट शाखाका प्रबन्धक लगायत कर्मचारीहरुको उपस्थिति थियो।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७१ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्यूआर कोडलगायतका सेवा, ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने युएसएसडी मोवाईल बैंकिङ्गलगायतका सेवा सञ्चान गर्दै आएको छ।