Logo
१५ वैशाख २०८१, शनिबार

रेशमलाई आम माफी दिन मन्त्रिपरिषदद्वारा राष्ट्रपतिलाई सिफारिस, पीडितहरु असन्तुष्ट

अक्षरपाटी
२०८० जेठ १४ , आईतबार ११:०५ मा प्रकाशित

काठमाडौं। कैलालीको टिकापुरमा सात सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी भएको घटनाका दोषी रेशम चौधरीको सजाय माफी गर्न सरकारले सिफारिस गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले जन्मकैदको सजाय तोकिएका चौधरीलाई माफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरी पठाएको हो।

मन्त्रिपरिषदको आजको बैठकले चौधरीसँगै हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि सजाय माफीका लागि र जन्मकैद मिनाहा हुनेगरी सिफारिस गरेको छ।

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीको जन्मकैदको सजाय माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।

भोलि सोमबार परेको गणतन्त्र दिवसका अवसरमा चौधरीलाई जेलबाट मुक्त गर्ने सरकारको योजना छ।

चौधरीलाई आम माफीको चर्चा सुरु भएपछि घटनाका पीडितहरुले भने आम माफी नदिन राष्ट्रपति समक्ष निवेदन दिएका छन्।

आम रुपमा पनि सत्ता टिकाउनका लागि जन्मकैद सजाय तोकिएका व्यक्तिको रिहाइ गर्न नहुने भन्दै सरकारको आलोचना सुरु भएको छ।

टीकापुर घटना रेशम चौधरी