Logo
१५ वैशाख २०८१, शनिबार

टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आम माफी, पीडित पक्ष अदातलमा

अक्षरपाटी
२०८० जेठ १४ , आईतबार ०८:०५ मा प्रकाशित

काठमाडौं। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई बाँकी कैद मिनाहा गरेका छन्।

गणतन्त्र दिवसको अवसरमा पौडेलले भोलि जेठ १५ गतेबाट लागु हुने गरी चौधरी सहित ५ सय १ जनाको कैद मिनाहा गरेका हुन्।

१९ जनालाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ बमोजिम कैद माफी दिइएको हो भने अन्य ४ सय ८२ जनालाई पनि फौजदारी कसुर सजाय र निर्धारण तथा कार्यान्वयन ऐनको दफा ३७ बमोजिम बाँकी सजाय छुट दिइएको हो।

उक्त दफामा जघन्य अपराध बाहेकका कसुरमा ५० प्रतिशत कैद भुक्तान गरेमा बाँकी सजाय माफी दिन सकिने व्यवस्था छ। सोही अनुसार राष्ट्रपति पौडेलले उनीहरुको बाँकी सजाय मिनाहा गरेका हुन्।

उता चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्ध पीडित पक्ष अदालत गुहार्न पुगेका छन्।

टीकापुर घटनामा मारिएका प्रहरी निरक्षक केशव बोहोराकी पत्नी शारदा कडायत बोहोरा रिट लिएर सर्वोच्च अदालत पुगेकी हुन्।

बोहोराले पेश गरेको रिट अध्ययनको क्रममा रहेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । बोहोराले यसअघि राष्ट्रपति कार्यालयमा पनि चौधरीलाई आममाफी नदिन निवेदन दिएकी थिइन्।

टीकापुर घटना रेशम चौधरी