Logo
१५ वैशाख २०८१, शनिबार

रेशम चौधरी जेलमुक्त, एकातिर स्वागत, अर्कोतिर आलोचनाको आगो

अक्षरपाटी
२०८० जेठ १५ , सोमबार १२:०५ मा प्रकाशित

काठमाडौं। टिकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैद भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलमुक्त भएका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफीमिनाहा गरेपछि उनी आज बिहान जेलमुक्त भएका ह्न्।

हिजै भएको निर्णयपछि उनका कार्यकर्ता डिल्लीबजार कारागार परिसरमा भेला भएका थिए। उनका समर्थकहरुले उनलाई फूलमाला र अबिरले रंग्याएर स्वागत गरेका थिए।

रिहा भएपछि समर्थकको लावालस्करसहित मन्त्री पत्नी रञ्जिता श्रेष्ठको क्वाटरमा पुगेका उनलाई त्यहाँ पनि थारुभेषभूषमा सजिएका समर्थकहरुले स्वागत गरे। फूलमाला र अबिर लगाइदिए।

त्यसपछि उनी बा २४ प ८२७२ नम्बरको कार चढेर माइतीघर मण्डलामा आए र त्यहाँ प्रतिक्षारत कार्यकर्ताको अबिर र टिका लगाए।

उता रेशमको भव्य स्वागत र सम्मान हुँदै थियो, यता सामाजिक सञ्जालदेखि विभिन्न मिडियामा सरकारको निर्णयको विरोध र आलोचना भइरह्यो।

थारु अधिकारका लागि भएको आन्दोलनका क्रममा भएको घटनामा दोषी सावित भएका रेशमप्रतिभन्दा पनि सरकारले अदालतको निर्णय कुल्चिएर गरेको निर्णयप्रति असन्तुष्टिको आगो सामाजिक सञ्जालमा ओकलिएको देखिन्छ।

पछिल्लो समय पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिव भइसकेका व्यक्ति नै आफ्नै नागरिकलाई भुटानी शरणार्थी बनाएर बेच्ने कुकार्यमा संलग्न भएको घटना, भ्रष्ट्राचारविरुद्ध संसदले उठाएको आवाज संसदकै रेकर्डबाट हटाउने जस्ता घटनाले आक्रोसित भएका बेला अदालतको निर्णय कुल्चेर जन्मकैद भएका व्यक्तिलाई छोडिएको भन्दै सरकारको आलोचना भएको हो।

देशमा, सुशासन, सुव्यवस्था, कानुनी राज्यको परिकल्पना गरेर ल्याइएको गणतन्त्रमा व्यथितिहरु मौलाउँदै गएपछि देशभर असन्तुष्टि बढ्दै गएको छ।

राजनीतिक नेतृत्वले पटक पटक सत्ता टिकाउन र सत्तामा पुग्नका लागि गरिरहेका अनैतिक र अवैधानिक सम्झौताहरुले व्यवस्थाप्रति नै वितृष्णा जगाइदिएको छ।

टीकापुर घटना रेशम चौधरी