काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले कांग्रेसले सिद्धान्तलाई छोड्दै गएको बताएका छन्।
उनले कसैले पनि लोकरिजाँइको राजनीति गरेर चर्चा कमाउनुको कुनै औचित्य नरहेको बताए।
नेता कोईरालाले काँग्रेस विगतको गौरवशाली चरित्रमा अलमलिन थालेको समेत बताए। उनले अहिले कुनैपनि संवैधानिक संस्थाहरु सबल बन्न नसकेको जिकिर गर्दै संसदको समेत अवस्था चिन्ताजनक रहेको उल्लेख गरे।
उनले भने, ‘अहिले कुनैपनि संवैधानिक संस्थाहरुमा सवल छैनन्, संसद नै हेर्नुस्। संसद हो कि होइन भन्ने लाग्न थालेको छ। संसदमा दोहोरी हुन्छ। संसदमा प्रधानमन्त्री बोलेपछि संसद रोकिन्छ। तर प्रमुख प्रतिपक्ष दलको नेताले म बोल्छु भन्नुहुन्छ। त्यो संसदीय मर्यादा विपरीत हो।’
उनले भने, ‘तर हामी कतै बोल्दैनौं र लेख्दैनौं पनि अनि कसरी लोकतन्त्र फस्टाउँछ?’
नेपाली काँग्रेसको विगतको जुन चरित्र थियो त्यसमा कता–कता कांग्रेस अलमलियको हो की ? भन्ने आफूलाई लागेको उनले बताए।
‘ काँग्रेस धेरै व्यवहारवादी भयौं। व्यवहारवादी हुँदा हामीले कतै गल्ति गरिरहेका हुन्छौं। नेपाली काँग्रेसको इतिहास हेर्दा गौरवमय छ। निरङ्कुशताका बिरुद्ध लड्दा कहिल्यै पनि चुकेको छैन’, उनले भने, ‘त्यसपछिका दिनमा नेपाली काँग्रेस व्यवहारवादी भएर चुक्दै गएका छौं। सिद्धान्तहरुलाई छोड्दै गएका छौँ।’
उनले संस्थाहरुको ४ वर्षमा लेखाजोखा गरेजस्तै अब राजनीतिक पार्टीहरुले पनि ५÷६ वर्षमा औचित्य पुष्टि गर्न जरुरी भएको उनले बताए।
‘लोकरिजाँई गरेर औचित्य पुष्टि गर्ने होइन। औचित्य पुष्टि गर्न नसक्ने हो भने नेपाली काँग्रेस पार्टी के मानेमा राख्ने? त्यस्तो बेला नेपाली काँग्रेस भन्ने संस्था रहन्छ?’ उनले भने।
उनले सरकारले मुलुकमा सुशासन दिन नसकेको दाबी गरे। मुलुकमा सुशासन नकारात्म हुँदै गएको बताउँदै नेता कोइरालाले हामी भ्रष्टाचारका विषयमा बोल्न छोडको बताए।
उनले मुलुकमा दण्डहिनता दिनप्रतिदिन बढेको बताउँदै तीन वटा जिल्ला, उच्च अदालत र सर्वोच्च अदालतले गरेको निर्णयलाई सरकारले उल्टाइदिने गरेकोप्रति आपत्ति जनाए।