कैलाली ५ असार। बझाङमा भएको जिप दुर्घटनामा गम्भीर घाइते सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको पनि निधन भएको छ।
दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। दुर्घटनमा मन्त्री सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंहको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिवेश चौधरीले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज पठाइएको थियो। उपचारकै क्रममा मन्त्री सिंहको निधन भएको र उनका सुरक्षा गार्ड सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीको उपचार भइरहेको बताइएको छ।
मन्त्री सिंह चढेको गाडी डडेलधुराबाट चैनपुर जाने क्रममा आज दिउँसो दुई बजेतिर केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।