Logo
९ वैशाख २०८२, मंगलबार

मन्त्री सिंहको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

अक्षरपाटी
२०८० असार ५ , मंगलबार १०:०६ मा प्रकाशित

काठमाडौं। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंह उनकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।

नेपाली कांग्रेस बझाङका पूर्व सभापति समेत रहेका सिंह गृह जिल्ला जाने क्रममा सवारी दुर्घटनामा परी परिवारका सदस्यसहित भएको निधनप्रति कांग्रेस गहिरो दुःख व्यक्त गरेको हो।

लामो समयसम्म नेपाली कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर उनले पुर्याएको योगदानको नेपाली कांग्रेसले स्मरण गरेको छ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वर्गीय सिंहले पार्टीको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो। उहाँको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको छ र नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ।’

कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, ‘…सिंहको निधनको खबरले मलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको छ। स्वर्गीय सिंहले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ। उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु। साथै, दुर्घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’