Logo
६ जेठ २०८१, आईतबार

विश्वकप छनोटः अमेरिकालाई सहजै पराजित गर्दै नेपाल तेस्रो स्थानमा उक्लियो

अक्षरपाटी
२०८० असार ५ , मंगलबार ११:०६ मा प्रकाशित

काठमाडौं ५ असार। जिम्बावेमा जारी आर्इसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ।

जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा मंगलबार भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो।

अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

नेपालको जितमा भीम सार्कीले १ सय १४ बलमा ७ चौका र १ छक्काको सहयोगमा अविजित ७७ रनको अर्धशतकीय ईनिङ खेले।

पहिलो विकेटका लागि ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले ३० बलमा २५ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए।

ओपनर शेख पाँचौ ओभरको अन्तिम बलमा सौरभ नेत्राभाल्करको बलमा १२ रन बनाउँदै एलबिडब्लु आउट भए।

अर्का ओपनर कुशल भुर्तेलले ५४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए।

दोस्रो विकेटका लागि भीम र कुशलले ६८ बलमा ४९ रनको महत्वपूर्ण साझेदारी भएको थियो। कुशल नोस्तुषा केन्जिगेको बलमा आउट भएसँगै यो साझेदारी तोडिएको थियो।

कप्तान रोहित पौडेलले २९ बलमा १६ रन बनाए। कुशल मल्ल १३ बलमा १३ रन बनाउँदै आउट भए।

पाँचौ विकेटका लागि भीम सार्की र दीपेन्द्र सिंह ऐरीले ६४ बलमा अविजित ७४ रनको विजयी साझेदारी गरे।

दीपेन्द्रले ३२ बलमा ५ चौका र १ छक्काको सहयोगमा अविजित ३९ रन बनाए।

अमेरिकाका लागि नोस्तुषा केन्जिगे, सौरभ नेत्राभाल्कर, निशर्ग पटेल र स्टेभन टेलरले समान १, १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भएको थियो।

नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ।

आजको जितसँगै सुपर सिक्समा पुग्ने नेपालको सम्भावना बलियो भएको छ।

जितसँगै २ अंकका साथ नेपाल समूह ए को तेस्रो स्थानमा उक्लिएको छ। अमेरिका भने चौथो स्थानमा झरेको छ।

विश्वकप छनोट