कञ्चनपुर ६ असार। भारतसँग सीमा जोडिएको कञ्चनपुर लागुऔषध कारोबारको हब बन्दै गएको छ।
जिल्लामा ११ महिनामा २ सय ५५ जना लागुऔषध कारोबार र दुव्र्यसनमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।
भारतीय सीमासँग जोडिएको यस जिल्लामा दैनिकजसो युवायुवती लागुऔषधसहित पक्राउ पर्ने गरेको प्रहरीले जनाएको छ।
गत साउनदेखि जेठसम्म जिल्लामा २६ किलो चरेस, ४ सय ९९ ग्राम खैरो हिरोइन, ३ सय ५८ एम्पुल फेनारगन, ३६ ट्याबलेट नाइट्राभेटलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
यो सत्ता नेतृत्वकर्ता पुष्पकमल दाहालकी बुहारी बीना मगर, नेपाली कांग्रेसका सचेतक रमेश लेखक, परराष्ट्रमन्त्री एनपी साउदजस्ता प्रभावशाली नेताले राजनीति गर्ने जिल्ला हो।
तर यहाँ खुला सिमानाका कारण किशोर र युवापुस्ता दिनदिनै लागुऔषध कारोबार र दुव्र्यसनमा फस्दै गएको प्रहरी तथ्यांकले देखाउँछ।
प्रहरी र स्थानीय प्रशासनका लागि लागुऔषध कारोबार नियन्त्रण र दुव्र्यसनमा कमी ल्याउन चुनौति बनिरहेको छ। स्थानीय प्रशासनले राजनीतिक नेतृत्व, स्थानीय पालिका, विद्यालय र समुदायको पनि यसमा सक्रिय भूमिका आवश्यक रहेको बताएको छ।
विशेषगरी भारतसँग सीमा जोडिएको दोधारा चाँदनी, बेल्डाँडी, पुनर्बास, बेलौरी क्षेत्रबाट लागुऔषध कारोबार हुने गरेको प्रहरीले जनाएको छ।