Logo
१४ पुस २०८१, आईतबार

काठमाडौंका मेयर बालेनले सार्वजनिक गरे वर्षदिनमा गरेका कामको फेहरिस्त

अक्षरपाटी
२०८० असार ६ , बुधबार ०५:०६ मा प्रकाशित

काठमाडौं ६ असार। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो घोषणापत्र अनुसार भएगरेका कार्यप्रगतिको सूची सार्वजनिक गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो घोषणापत्रमा सार्वजनिक जग्गा संरक्षण, नयाँ पार्क निर्माण, स्मार्ट सडकबत्ति जडान, फुटपाथ निर्माण लगायतका काम गर्ने उल्लेख गरेको स्मरण गरको छन्।

उनले सोही अनुसार आम मतदाताको हितमा काम गर्दै आइरहेको स्मरण गराएका छन्। उनले चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण गरेको र यो काम निरन्तर चलिरहेको भनेका छन्।

त्यस्तै घोषणा पत्रमा शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्ने पार्कहरूको निर्माण गर्ने उल्लेख गरेको स्मरण गर्दै उनले सोही अनुसार २५ वटा नयाँ पार्क निर्माण गरेको बताएका छन्।

सहरको सुरक्षा र पैदल यात्रीहरुलाई सहज होस भनेर महानगरले १७ सयवटा स्मार्ट सडकबत्ति जडान गरेको पनि बालेनले उल्लेख गरेका छन्।

यो अवधिमा महानगरले ४२ किलोमिटर सडककालोपत्रे, ७ किलोमिटर नयाँ ढल निर्माण, १५ सय मिटर फुटपाथ निर्माण गरेको पनि बताएका छन्।

सार्वजनिक शौचालय र सामुदायिक विद्यालय भवन निर्माण तथा मर्मत लगायतका पूर्वाधार विकासका कामहरु पनि सम्पन्न भएको मेयर बालेनले जानकारी गराएका छन्।

उनले आफ्नो नेतृत्वयता पैदलयात्रीहरुको सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइएको समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।