एजेन्सी। बंगलादेशमा ग्यासबाट चल्ने माइक्रो बस डिभाइडरमा ठोक्किँएर ग्यास सिलिण्डर विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ।
राजधानी ढाकाबाट करिब १०१ किलोमिटर पर मध्य फरिदपुर जिल्लामा शनिबार बिहान तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाएपछि माइक्रो बस राजमार्गको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।
ढाकातर्फ जाँदै गरेको माइक्रोबसमा सिलिण्डर पड्केर आगलागी भएको र सातै जनाको जलेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दमकल केही समयमा नै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिए पनि यात्रुहरूलाई भने बचाउन नसकिएको प्रहरीले जनाएको छ। बङ्गलादेशमा सडक दुर्घटनाका कारण हुने दर विश्वमै सबैभन्दा बढी छ।