Logo
२४ पुस २०८१, बुधबार

अख्तियारद्वारा पशुपतिमा चढाइएको जलहरीको नापजाँच

अक्षरपाटी
२०८० असार १० , आईतबार ०७:०६ मा प्रकाशित

काठमाडौं। सबैसँग विश्वास र भरोसा हराएपछि सनातन हिन्दूहरुले भरोसा गर्ने भनेको भगवान हो। त्यसमा पनि पशुपतिनाथलाई आराध्य देवका रुपमा मान्छिन्। जस्तो विपद पर्दा पनि पशुपतिलाई पुकारिन्छ।

आस्तिकहरुले भगवानमाथि भरोसा पनि गर्छन र बेइमानी पनि गर्दैनन्। तर त्यही पशुपतिनाथको जलहरीमाथि पशुपति विकास कोषकै पदाधिकारीबाट बेइमानी भएको आरोप चर्चामा छ।

जुन विषय संसदमा समेत उठ्यो। चाँदीको जलहरी पुरानो भएको भन्दै २०७७ माघमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले पशुपति दर्शन गर्दा सुनको जलहरी लगाउने विवादास्पद निर्णय गरे।

१०८ किलोका जलहरी भनेर पशुपतिको गर्भगृहमा १०६ किलोको मात्रै राखिएको भन्दै उजुरी पर्यो। अख्तियारले लामो समय यो विषयमा खासै चासो देखाएन्।

संसदमा यस विषयमा सांसदहरुले कुरा उठाएपछि संसदको रेकर्डबाटै मेट्ने विषयमा तीन दलका ठूला नेताबीच सहमति भयो।

प्रधानमन्त्रीले यो विषय अख्तियारले छानविन गरेर टुंग्याउने भनेपति अहिले आएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर परिसरमा पुगेर गर्भगृहमा दुई वर्षअघि राखिएको सुनको जलहरी नापजाँच गरिरहेको हो।

पशुपतिमा जलहरी निर्माणका लागि लागत स्टिमेट तयार गर्दा १०८ किलो सुन लाग्ने अनुमान भएको थियो।

सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो।

पशुपति क्षेत्र विकास कोषले पनि सर्वोच्च अदालतमा पठाएको जवाफमा १०३ किलो ७७३ ग्राम सुन किनेको भनी उल्लेख छ।

१२ फागुन २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिमा क्षमापूजा गर्दा १०८ किलोको जलहरी निर्माण गरी राखिएको भन्ने व्यानर नै तयार गरिएको थियो।

यति मात्र होइन, जलहरी राख्ने बेला धेरै दाताले दिएको दातव्यसमेत हिनामिना गरिएको आरोप छ । यस कार्यमा कोषले तत्कालीन कोषाध्यक्ष मिलन थापालाई संयोजक तोकेको थियो । तिनै थापा अहिले सदस्यसचिव छन्।

पशुपति क्षेत्र विकास कोष सम्बद्ध स्रोतका अनुसार, जलहरी निर्माणका लागि करिव एक सय किलो सुन लाग्ने भएपनि १०८ किलो चाहिने भनी निर्णय भएको थियो।

सुन कमलो हुने भएकाले त्यसमा अरु धातु र रसायनको समिश्रण गरियो। २ किलो ८९० ग्राम तामा, १ किलो २४९ ग्राम तामा, १२ ग्राम जिंक समेत गरी १०७ किलो ९२४ ग्राम सुन कायम गरियो। ८ अंकलाई शुभको प्रतिक मानिने भएर त्यसलाई १०८ किलो पुर्‍याइयो।

सुनका बारेमा प्रश्न उठेपछि कोषका पदाधिकारीले भने रिङ बनाएर पशुपतिनाथको मूर्तिलाई पेटी बनाएर बाँधिएको भनी जवाफ दिएका थिए।

पछि माइन्यूटमा ‘साथै बाँकी रहेको सुन पशुपतिनाथलाई पेटी र रिङ बनाएर चढाइयो’ भनी थपिएको थियो।

केही दिनअघि संसदीय समितिको बैठकमा प्रतिक्रिया दिने क्रममा सदस्य सचिव थापाले पशुपतिको सुन नहराएको र आफूले नमासेको भन्दै आशु खसालेका थिए।

ढिलै भए पनि अख्तियारले थालेको अनुसन्धानलाई निस्पक्ष रुपमा किनारा लगाएर उसमाथि पनि उब्जिएको आशंकाको समेत निवारण गर्ने अपेक्षा आम रुपमा गरिएको छ।