विराटनगर १५ असार। एमाले नेतृत्वमा रहेको कोशी प्रदेशको सरकार ढलेको छ।
विश्वासको मत नपाएपछि सरकार ढलेको हो। विश्वासमा मतका लागि मुख्यमन्त्री हिक्मत कार्कीले राखेको प्रस्ताव फेल भएपछि एमाले नेतृत्वको सरकार ढलेको हो।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिनेमा कार्कीले ४६ मत पाएका थिए।
उनलाई एमाले र राप्रपा बाहेकका सांसदले मत दिएनन्। प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ सांसद छन्।
उनीहरु सबैले बैठकमा उपस्थित भएर मत दिए पनि बहुमतका लागि पर्याप्त भएन।
नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले कार्कीको प्रस्तावको विपक्षमा मत दिए। विपक्षमा ४३ मत खस्यो।
जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बु बैठकमा अनुपस्थित भइन्। प्रदेश सभामा आफ्नो पक्षमा बहुमत जुटाउन नसकेपछि कार्की नेतृत्वको सरकार ६ महिना पूरा नहुँदै ढलेको छ।
कार्की पुस २४ मा ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। तर केन्द्रमा राजनीतिक समीकरण फेरिएको असरस्वरुप माओवादी केन्द्र र जसपाले पालैपालो समर्थन फिर्ता लिएपछि त्यसको प्रभाव कोशी प्रदेशमा पनि परेको हो। कोशीमा अब कसको नेतृत्वमा सरकार बन्छ ? स्पष्ट छैन।