Logo
२४ पुस २०८१, बुधबार

देशका विभिन्न स्थानका सडक अवरुद्ध, पहिरो र बाढीले आवतजावतमा सास्ती

अक्षरपाटी
२०८० असार १६ , शनिबार ०५:०७ मा प्रकाशित

काठमाडौं १६ असार। चितवनको इच्छाकामना गाउँपालिका ५ मा पर्ने तुइन खोला नजिक फेरि पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ।

बिहान साढे ११ बजे फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

बिहान सवा तीन बजे सोही स्थानमा पहिरो खसेर सडक बन्द भएको थियो। उक्त अवरोध हटाएको केहीबेरमा पुनः पहिरो खसेर अवरुद्ध भएको हो।

पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

बिहीबार दिउँसो पनि सोही ठाउँमा पहिरो खसेर बन्द भएको सडक शुक्रबार बेलुकी ५ बजेदेखि खुलेको थियो।

यस्तै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीमा खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा अवरुद्ध बनेको हो।

सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दी हुँदै देशका विभिन्न ठाउँमा जान हिँडेका सवारीसाधनबीच बाटोमै रोकिएका छन्।

अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडकखण्ड पनि अवरुद्ध बनेका छन्। दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालिगण्डकी करिडोर तथा विभिन्न सडकखण्ड बन्द छन्।

सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१ धैरेनी, बगनासकाली–४ सेरा र रम्भा गाउँपालिका–३ लसुने नजिकै पहिरो खसेको छ।

कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

दुई दिनदेखिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बुर्तिबाङ–रुकुम खण्डअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–२ जुग्जाखोला नजिकै आज पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा बुर्तिबाङदेखि रुकुम र रुकुम, निसीखोला लगायतका ठाउँबाट काठमाडौँ, बुटवल, पोखरा लगायतका ठाउँमा जाने यातायातका साधन ठप्प भएका छन्। सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।

सडक खुलाउने प्रयास भइरहेको बताइएको छ। भारी वर्षाका कारण लोकमार्गको विभिन्न स्थानमा पहिराले सडक ठाउँ ठाउँमा अवरुद्ध बनेको छ।