पश्चिम नवलपरासी १६ असार । मिटरव्याजी पीडित समूहले पश्चिम नवलपरासीमा साहूलाई पिटेर प्रहरीको जिम्मा लगाएका छन्।
प्रतापपुर २, घोडाहाका पीडितहरूले रुपन्देहीका साहु दीपेन्द्र कुमार चौधरी र उनका छोरा दिव्यान्सु चौधरीलाई प्रहरीको जिम्मा लगाएका हुन्।
पीडकले प्रतापपुर गाँऊपालिकाकी चमेली कुमारी थारु र उनका श्रीमान् तिलकरामा चौधरीको १ बिगाहा १९ कट्ठा ८ धुर जमिन जालसाजी गरी बिक्री गरेको आरोप छ।
ज्वाइँको नाता जोडेर परिवारमा आएका दीपेन्द्रले घर व्यवहार मिलाउन भन्दै चौधरी दम्पतीको लालपुर्जा मागेको र दृष्टि बन्धकमा जमिन बेचेको पीडितको आरोप छ । सामान्य परिवारका व्यक्तिलाई जालसाजी गरी बेघर बनाइएको भन्दै आक्रोशित समूहले पिडक माथि आक्रमण समेत गरेका छन्।
चौधरी परिवारमा सामान्य लेखपठ गर्न सक्ने व्यक्तिसमेत छैनन् । पीडकले अशिक्षाको फाइदा उठाउँदै आफू माथि अन्याय गरेको पीडित चौधरीका छोरा बताउँछन्।
पीडकले यस अघि पनि विभिन्न व्यक्तिलाई झुक्क्याएर सम्पत्ति जफत गर्दै आएको आरोप छ । पीडितले तत्काल आफ्नो सम्पत्ति फिर्ता गर्नुपर्ने माग गरे पनि पीडकले भने जमिन तुरुन्तै फिर्ता गर्न सक्ने अवस्था नरहेको बताए।
पीडकले जमिन र्फिता गर्न नसक्ने भनेपछि आक्रोशित भिडले उनीमाथि आक्रमणको प्रयास गरेको थियो।
नवलपरासीमा यति वेला मिटर ब्याज पीडित संघर्ष समितिले पीडितहरूको खेतमा जाने र आफ्नो जमिन भोग चलान गर्ने वातावरण तयार गर्दैछन । यसै क्रममा आज समूह चौधरीको खेतमा पुगेका थिए भने पिडक चौधरीलाई पनि भैरहवाबाट बोलाइएको थियो।
नवलपरासीमा मिटर ब्याज सम्बन्धी करिब २ हजार उजुरी परेको छ । पीडितले सहज न्याय नपाउने अवस्था आउँदा हिंसा बढ्ने खतरा देखिन्छ । यस तर्फ सम्बन्धी निकाय चनाखो बन्न आवश्यक देखिन्छ।