काठमाडौं २४ असार। कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ।
निवर्तमान मुख्यमन्त्री एवम् कोसी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै शुक्रबार रिट दर्ता गराएका थिए।
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भएका छन्। नियुक्तिविरुद्ध एमाले सर्वोच्चमा पुगेको हो। सो रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको छ।
कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालय कोशी प्रदेश मुख्यमन्त्री उद्धव थापा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश र प्रदेशका सभामुख बाबुराम गौतमलाई विपक्षी बनाउँदै रिट दायर गरेका छन्।
संविधानको धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ।
थापा चार दलको समर्थनमा बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतमको अलग्गै हस्ताक्षर गराएर प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए।
सोही नियुक्ति प्रक्रिया संवैधानिक व्यवस्थाविरुद्ध भएको भन्दै परेको रिटमाथि सुनुवाइ हुन लागेको हो।