काठमाडौं २४ असार। केही दिनअघि एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद बैठक अवरोध गर्दै आएको छ।
संसद चल्न दिने विषयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सहमति भएको छ।
छलफलमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीलाई संसद्मा सम्बोधन गर्न दिन एमाले सहमत भएको हो।
तर एमालेले सशर्त संसद् चल्न दिने सहमति जनाएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताए।
संसद्मा प्रधानमन्त्रीको भनाइ कस्तो आउँछ त्यसलाई हेरेर मात्र अर्को बैठकमा एमालेको भूमिका तय गर्ने उनले बताए।
आज अपराह्न ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सुरुमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट प्रमुख सचेतक पदम गिरीले बोल्ने र त्यसपछि प्रधानमन्त्री दाहालले आफ्नो स्पष्टीकरण राख्ने सहमति भएको छ।
गत असार १८ गते प्रितम सिंहको एक पुस्तक विमोचनमा प्रधानमन्त्री दाहालले सिंह आफूलाई प्रधानमन्त्री बनाउनका लागि पटक पटक दिल्ली गएको भनेपछि सोही भनाइलाई लिएर एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको हो।