काठमाडौं २६ असार। लुक्लाबाट आज बिहान काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार ६ जनाकै ज्यान गएको छ।
मंगलबार लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बु लिखु पिके गाउँपालिका ५ चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।
लाम्जुरापास क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको र ६ जनाकै मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिए।
हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए। उनी निकै अनुभवी पाइलटका रुपमा चिनिन्छन्। यात्रुहरू पाँचै जना मेक्सिकन नागरिक हुन।
यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इस्माइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस सवार थिए।
सोलुखुम्बुको सुर्केबाट ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो।