Logo
२६ पुस २०८१, शुक्रबार

संखुवासभा र टेकु घटनाबारे छानविन गर्न समिति

अक्षरपाटी
२०८० साउन २५ , बिहीबार ०४:०८ मा प्रकाशित

काठमाडौं। तामाङ र मगर समुदायले अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध कारवाही गर्नुपर्ने मागसहित साउन १७ गते प्रहरी परिसर टेकुमा गरेको धर्नामा प्रहरीले बल प्रयोग गरेको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।

सरकारले गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै पाँच सदस्यीय समति गठन गरेको जानकारी गराएका छन्।

गृहमन्त्रालयका उपसचिव रामबहादुर शाहीको संयोजकत्वमा गठित छानबिन समितिलाई घाइते भएका व्यक्तिहरूबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न १० दिनको समय तोकिएको छ।

समितिमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, उपत्यका प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सदस्य छन्।

त्यस्तै कारागार कार्यालय संखुवासभासभाका कैदीहरू विनोद तोलाङ्गी र विकास श्रेष्ठ भनिने आकाश बलामीको साउन २४ गते कारागारभित्रै मृत्यु भएको सम्बन्धमा सत्यतथ्य जाचबुझ गरी प्रतिवेदन पेश गर्न अर्को समिति गठन गरिएको प्रवक्ता भट्टराईले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रतिनिधि सदस्य रहेको जनाइएको छ।