Logo
२२ वैशाख २०८१, शनिबार

फिफा महिला विश्वकपः स्वीडेनको सनसनीपूर्ण नतिजा कायमै

अक्षरपाटी
२०८० साउन २७ , शनिबार ०१:०८ मा प्रकाशित

अक्ल्यान्ड। अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपमा स्वीडेनले सनसनीपूर्ण नतिजा कायमै राखेको छ।

न्युजिल्यान्डको अक्ल्यान्डस्थित इडेन पार्कमा भएको क्वार्टरफाइनलमा स्वीडेनले एसियाली महारथी जापानविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

अमान्दा इलेस्टेडले ३२औं मिनेटमा गरेको गोलसँगै स्वीडेनले अग्रता लिएको थियो। पहिलो हाफमा १–० ले पछि परेको जापान खेलमा पुनरागमन गर्न सकेन। फिलिपा एन्जेलडलले पेनाल्टीमार्फत गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारिन्।

निर्धारित ९० मिनेटको खेल सकिन तीन मिनेट बाँकी रहँदा होनोका हयासीले एक गोल फर्काए पनि जापानलाई हारटबा जोगाउन पर्याप्त भएन।

अन्तिम १६ मा पेनाल्टी सुटआउटमा पराजित गरेको स्वीडेनले लगातार दुई साविक विजेतालाई घर फर्काएको छ।

स्वीडेनले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ। आजै वेलिङ्टनमा भएको क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई २–१ गोलकै नतिजामा पराजित गर्दै स्पेन पनि अन्तिम चारमा पुगेको छ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समय १–१ गोलको बराबरीमा टुङ्गिएको थियो। मारियोना काल्डेन्टीले ८१औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन्। इन्जुरी समयमा नेदरल्यान्ड्सकी स्टेफनी भान डर ग्राटले बराबरी गोल फार्कएकी थिइन्।

त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलको एक सय ११औं मिनेटमा साल्मा केलेस्टेले गोल गर्दै स्पेनलाई २–१ को जित दिलाइन्।

स्पेन र स्वीडेन फाइनल प्रवेशका लागि १५ अगस्टमा अक्ल्यान्डमा आमनेसामने हुनेछन्।

भोलि हुने इङ्ल्यान्ड र कोलम्बिया तथा अस्ट्रेलिया र फ्रान्सबीचको क्वार्टरफाइनलले थप दुई सेमिफाइनलिस्टको पनि टुङ्गो लगाउने छ।

fifa women's world cup 2023