Logo
१७ असार २०८२, मंगलबार

इन्जिनियरिङ अध्ययन संस्थानले बनायो शुल्कवृद्धि पुनरावलोकन समिति

अक्षरपाटी
२०८० भदौ २० , बुधबार १२:०९ मा प्रकाशित


काठमाडौं,२० भदौ । इन्जिनियरिङ अध्ययन संस्थानले आंगिक क्याम्पसमा स्नातह तहमा गरेको शुल्कवृद्धि पुनरावलोकन गर्न समिति गठन गरेको छ।

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले सहप्राध्यापक हरिराम पराजुलीको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरेको हो।

समितिमा थापाथली, पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापतिहरू पनि सदस्य छन्।

यो समितिलाई ७ दिनभित्र शुल्क पुनरावलोकन प्रतिवेदन दिन भनिएको छ।

संस्थानले शैक्षिक सत्र २०८०र०८१ देखि लागु हुने गरी स्नातक तहमा शुल्कवृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए। शुल्कवृद्धि फिर्ताको मागसहित नेविसंघ पुल्चोकका नेता सुलभ चापागाईं आमरण अनशन नै बसेका थिए।

विद्यार्थी संघसंगठनहरूले प्रधानमन्त्री निवास बालुवाटार घेराउदेखि विभिन्न संघर्षका कार्यक्रम गरेपछि त्रिविले छलफल गरी शुल्क पुनरावलोकन गर्ने सहमति गरेको थियो।

३ लाख १३ हजार रुपैयाँ शुल्क रहेकोमा संस्थानले वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्‍याएपछि विद्यार्थीहरूले विरोध गरेका थिए।