धनगढी,२९ असोज । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेमौसमी असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ ।
दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा आइतबार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । दार्चुलामा हावाहुरीसहित असिना पानी परेको थियो ।
बैतडीका पुरचौडी, डिलासैनी, दोगडाकेदार, सिगास गाउँपालिकामा पनि असिना पानीले क्षति पुर्याएको छ ।
२८ गतेदेखि पश्चिमी वायु भारतको जम्मुकास्मिर हुँदै नेपालको दार्चुलामा प्रवेश गरेको थियो । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज र भोलि दुई दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ठूलो वर्षा हुने सम्भावना नभए पनि हल्कादेखि मध्ययम वर्षाले समस्या पार्न सक्ने भएकाले पूर्व सतर्कता अपनाउनु पर्ने मौसमविदहरुको भनाइ छ ।