Logo
१० पुस २०८१, बुधबार

गुटेरेसको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध झन बलियो हुनेछ : प्रधानमन्त्री प्रचण्ड

अक्षरपाटी
२०८० कात्तिक १२ , आईतबार ०५:१० मा प्रकाशित


काठमाण्डौ,१२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको चार दिने औपचारिक भ्रमणबाट राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

महासचिव गुटेरेससँग आज आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको औपचारिक भेटवार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार तथा सहजीकरण गर्न यो भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, अल्पविकसित देशबाट स्तरोन्नति र दिगो विकासलगायतका विषयमा छलफल भएको उहाँको भनाइ छ ।

त्यस्तै नेपालको शान्ति प्रक्रिया चाँडै टुङ्गिने विश्वास पनि प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभयो । ‘अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउनका लागि अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र सङ्घको महासचिवको हैसियतले उहाँको महत्त्वपूर्ण भूमिका रहने विश्वास हामीले लिएका छौँ’, उहाँले भन्नुभयो ।

नेपालको आर्थिक विकास र समृद्धिका बारेमा पनि छलफल भएको प्रधानमन्त्रीले बताउनुभयो । नेपाल अल्पविकसित देशबाट स्तरोन्नति हुने क्रममा रहेकाले यो प्रक्रिया सहज बनाउन तथा तोकिएको समयमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न पनि उहाँले महासचिव गुटेरेससँग आग्रह गर्नुभयो ।

राष्ट्र सङ्घका महासचिव गुटेरेसले आजै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउँदसँग पनि औपचारिक भेटवार्ता गर्नुभएको थियो ।