Logo
२४ पुस २०८१, बुधबार

बसको ठक्करबाट पैदलयात्रीको मृत्युपछि लम्कीमा चक्काजाम

अक्षरपाटी
२०८० मंसीर १५ , शुक्रबार ०१:१२ मा प्रकाशित

टीकापुर,१५ मंसिर । बिहीबार साँझ बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्गको लम्कीमा पीडितका आफन्तले चक्काजाम गरेका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहन्याल गाउँपालिका वडा नं. ७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको ज्यान गएको थियो।

मृतकका आफन्तले बसको लापरवाहीले ज्यान गएको भन्दै उचित क्षतिपूर्तिको मागसहित लम्की चौराहमा सवारी साधन ठप्प पारेका हुन्। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार लम्कीचुहा नगरपालिका-२ गणेशपुर चोकमा हिंडिरहेका विष्टलाई बसले ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ज्यान गएको हो। पीडितका आफन्तहरुले सवारी साधन ठप्प पारेपछि पूर्वपश्चिम यातायात सेवा अवरुद्ध भएको छ। ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेका छन्।