Logo
९ पुस २०८१, मंगलबार

भूमिहीन सुकुमबासीले गरे टीकापुर नगरपालिका घेराउ

अक्षरपाटी
२०८० मंसीर १७ , आईतबार ०३:१२ मा प्रकाशित

टीकापुर,१७ मंसिर । भूमिहीन सुकुमबासीका लागि निस्सा वितरणमा ढिलाइ गरेको भन्दै आन्दोलित भएका टीकापुर वडा नं। १ का भूमिहीन सुकुमबासीहरुले कैलालीको टीकापुर नगरपालिका केन्द्र घेराउ गरेका छन् ।

शुक्रबारदेखि तत्काल निस्सा वितरण गर्नुपर्ने माग राख्दै नगरपालिकामा तालाबन्दी गरेका भूमिहीन सुकुमबासीहरुले नगरपालिकाले मागको सुनुवाई नगर्दै ताला खोलेको भन्दै आइतबार घेराउ गरेका हुन् ।

नगरपालिकाले वडा नं. ६ मा सुकुमबासीहरुका लागि निस्सा वितरणको कार्य सुरु गरिसक्दा समेत वडा नं. १ मा निस्सा वितरण प्रक्रिया रोकिएको भन्दै उनीहरु आक्रोशित बनेका हुन्।

अन्य वडामा सुरु भइसक्दा समेत वडा नं. १ मा निस्सा वितरण कार्य नभएकाले नगरपालिकामा तालाबन्दी गरेकोमा पालिकाले ताला खोलेपछि केन्द्र घेराउ गरिएको आन्दोलनका संयोजक पूर्णबहादुर खड्काले बताए ।

नगरपालिका घेराउ गर्न जम्मा भएका भूमिहीन सुकुमबासीलाई नगर प्रमुख रामलाल डगौरा थारुले सम्बोधन गरेका छन् । उनले निस्सा वितरणका लागि प्रक्रिया अघि बढेर दावी विरोधका लागि एक हप्ते सूचना प्रकाशनको चरणमा रहेको बताए ।

पालिका केन्द्रमा घेराउ बन्दी गरिएपछि आज पनि नगरपालिकाका कामकारवाही प्रभावित भएको छ ।