Logo
१५ वैशाख २०८१, शनिबार

हमास-इजरायल युद्धको तीन महिना पूरा : विपीनको अवस्था अझै अज्ञात

अक्षरपाटी
२०८० पुस २२ , आईतबार ०१:०१ मा प्रकाशित

काठमाण्डौ,२२ पुस । लडाकु समूह हमास र इजरायलबीच भइरहेको युद्धको तीन महिना पूरा भएको छ ।

गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण शुरु गरेको थियो । त्यसबेला १० जना नेपालीसहित केहीले ज्यान गुमाएका थिए । हमासले नेपालका विपीन जोशीसहित २ सय ५० जनालाई बन्धक बनाएको थियो । पछि अस्थायी युद्धविरामका क्रममा केहीलाई मुक्त गरे पनि विपीनसहित एक सय ३२ जना अझै हमासको नियन्त्रणमा रहेका अनुमान छ ।

नेपालले यो बीचमा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका जोशीको रिहाइका लागि केही प्रयास गरे पनि अवस्था अझै थाहा हुन सकेको छैन । परराष्ट्रमन्त्री एनपी साउदले जोशीको रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताउँदै आउनुभएको छ । इजरायल सरकारसँग अनि प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग पटक–पटक आग्रह र अनुरोध गरिएको उहाँको भनाइ छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ तारिखमा लडाइँ शुरु भएयता इजरायलबाट झण्डै २२ हजार ७ सयभन्दा धेरै मानिस मारिएका छन् । इजरायलको आक्रमणबाट विस्थापित हुनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।