Logo
२८ वैशाख २०८१, शुक्रबार

तमान र लाम्मेलाबीच निस्सासिएको हिले गाउँ

अक्षरपाटी
२०८० माघ २० , शनिबार ११:०२ मा प्रकाशित


बाग्लुङ । तमानखोला गाउँपालिका बाग्लुङ जिल्लाकै अन्तिम र पिछडिएको पालिका हो । त्यही पालिकामा भित्र अझ पिछडिएको गाउँ छ हिले । हिलेको उत्तरमा वडा न: ४ लाम्मेला गाउँ छ र दक्षिणमा वडा नं: ३ तमान गाउँ ! हिले गाउँ भने वडा नं: ३ मा पर्छ । हिलेमा बसेर तमान र लाम्मेला गाउँलाई हेर्दा नेपालमा बसेर चीन र भारतलाई हेरे जस्तै लाग्छ । खेतीयोग्य जमिन, अनेक सेवा-सुविधा, सम्पन्न र शिक्षित नागरिक र मिश्रति समुदाय भएको गाउँहरु हुन तमान र लाम्मेला, यता हिले भिरालो भुगोल , स-साना कान्ला, बिपन्न र दलित समुदायमात्र भएको गाउँ ।

दुबै गाउँको चेपुवा मा परेको छ यो गाउँ र यहाँका स्थानीयहरु । करिब ७० घरधुरी भएको यो गाउँ लाम्मेला र तमानको दाजोमा जति विकास हुन पर्ने हो त्यति छैन । संघीय संरचनामा जादा यो गाउँलाई भूगोलको हिसाबले वडा नम्बर ४ लाम्मेलासंग गाभ्नु पर्ने तर भौगोलिकरुपमा टाढा वडा नम्बर ३ संग गाभ्नु नै हिले गाउँ पछि पर्नुको प्रमुख कारण मान्न सकिन्छ । उहीँ वडाको तमान गाउँ मा बिकास खरायोको गतिमा छ । उहीँ वडाको हिलेमा बिकास कछुवाको गतिमा छ । तमानखोलाका अधिकांश गाउँहरुमा काठको पोल बिस्थापित भैसकेको छ। हिलेमा भने अझै बिजुलीका तारहरु काठको पोलमा तानिएका छन् ।

लाम्मेला गाउँले बिजुलीको पावर हाउस हिलेमा बनाएको छ। हिलेबासीले त्यही बिजुलि प्रयोग गर्छन् । हिले फेरि वडाको हिसाबले तमान गाउँमा पर्छ । हिले आफ्नो वडा भएको तमानलाई फलामे बिजुलीको पोल फेरिदिन अनुरोध गर्छ । लाम्मेलालाई भन्नू, तिमीहरुले लाम्मेलाको बिजुली बालेका छौ भनेर अभिभावकत्वबाट पन्छिन्छ तमान । लाम्मेलाले तिमिहरुको वडा तमानमा पर्छ त्यही भन्नू भन्छ। कन्तबिजोगमा परेको हिलेको चीत्कार कसले सुन्ने ! हिलेको चाहाना चाहिँ जताबाट भएपनी आफ्नो समस्याको समाधान होस भन्ने हो । विकासको नाममा बिद्यालयको पक्की भवन र प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा ढुंगे भवन बनेको छ ।

हिलेमा पानीको पनि उत्तिकै समस्या छ । पानी नभएको हैन प्रशस्त छ तर पिउन योग्य पानी छैन । बस्तीमुनि पानीको मुहान भएकाले प्रायजसो पानीजन्य रोगबाट ग्रसित भएको स्थानीयले गुनासो गर्छन ।

समाधानका लागि हिलेबासिले पानीको मुहान दिएर सहयोग गर्न संगै जोडिएको लाम्मेलालाई हारगुहार नगरेका पनि हैनन, लाम्मेलाले मुहान दिन अस्वीकार गरिदियो । हिलेबासीसंग अहिले प्रयोग गरिरहेको बाहेक अरु मुहान छैन । हिले आफै पिछडिएको छ, त्यहिमाथी वडा र छिमेकी गाउँको असयोग ! दुई ढुङ्गा विचको तरुल जस्तो बनेको छ । हिलेबासीको कुरा सुन्दा लाग्छ हिलेबासिले स्थानीय सरकारको अनुभुत गर्नै पाएका छैनन् । अलि सम्पन्न र पढेलेखेकाले गाउँ छोडीसके बिपन्न र अशिक्षितको मात्र बसोबास छ हिलेमा । हिलेबासिको ठूलो चाहाना र ठूलो सपना पनि छैनन् । स-साना अनिवार्य आवश्यकता स्थानीय सरकारले पूरा गरिदिए फुरुंग हुने थिए ।