Logo
८ साउन २०८१, मंगलबार

एसीसी प्रिमियर कप : हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

अक्षरपाटी
२०८१ वैशाख ३ , सोमबार ०३:०४ मा प्रकाशित

काठमाण्डौ,३ बैशाख । हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले हरायो ।

हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले ४०, कुशल भुर्तेलले ३२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले नट आउट २५ र सन्दीप जोराले नट आउट १९ रन बनाए । हङकङका एहसान खान र यासिम मुर्तजाले समान १ विकेट लिए ।

यसअघि अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस हारेर ब्याटिङ गरेको हङकङ १७ ओभर ५ बलमा १ सय १४ रनमा अल आउट भयो । वर्षाका कारण खेल प्रभावित भएपछि १८ ओभरमा झारिएको थियो ।

यो जितसँगै नेपाल ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग पर्सि बुधवार खेल्नेछ ।