Logo
२० वैशाख २०८१, बिहीबार

नेपाल यूएईसँग पराजित, एसिया कप खेल्ने सम्भावना सकियो

अक्षरपाटी
२०८१ वैशाख ७ , शुक्रबार ०४:०४ मा प्रकाशित

काठमाडौँ,७ शुक्रबार । नेपाल एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा यूएईसँग पराजित भएको छ । नेपाल यूएईसँग ६ विकेटले पराजित भयो ।

जितसँगै यूएई फाइनलमा प्रवेश गरेको छ । उसले ओमान र हङकङबीचको सेमिफाइलको विजेतासँग उपाधिका लागि भिड्नेछ ।

ओमानको अल अमरात क्रिकेट मैदानमा भएको आजको खेलमा जितका लागि नेपालले प्रस्तुत गरेको एक सय २० रनको लक्ष्य यूएईले १७ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो ।

योसँगै नेपालको एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ । प्रिमियर कपको विजेताले अर्को वर्ष एसिया कपमा खेल्न पाउने प्रावधान छ । यस प्रतियोगिताको विजेताले सन् २०२५ मा हुने टी–२० एसिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देश एसीसी इमर्जिङ टिम्स कपमा छनोट हुने छन् ।

यूएईका लागि अलिसान शराफूले अर्धशतकीय पारी खेले । उनले ४१ बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५५ रन बनाए ।

साथै विष्णु सुकुमरनले २८, सइद हैदरले १४, मुहम्मद वासिमले ११, आसिफ खानले १० रनको योगदान दिए । नेपालका लागि गुलसन झाले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङ कमजोर रह्यो । नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा जम्मा एक सय १९ बनाउन सक्यो ।