काठमाडौं,७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने अडान यथावत रहेको बताएको छ। सोमबार बिहान बसेको संसदीय दलको बैठकले संसदीय छानबिन समिति नबनेसम्म संसदका कार्यसूचीमा प्रवेश गर्न नदिने निर्णय गरेको हो।
बैठक पछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रक्रियालगायत अन्य कार्यसूचीमा प्रवेश गर्न नदिने बताए।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध गर्दै आएको छ। संसदीय समिति गठनमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति भएपनि कार्यादेशमा टुंगो लागेको छैन।