Logo
६ पुस २०८१, शनिबार

मोरङमा विद्यार्थी पक्राउको विरोधमा प्रदर्शन

अक्षरपाटी
२०८१ जेठ २५ , शुक्रबार ०४:०६ मा प्रकाशित

मोरङ । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्ववियु सदस्य तथा नेविसंघका क्याम्पस इकाइ सदस्य दीपक यादवसहित ६ जनालाई पक्राउ गरिएको विरोध गर्दै विराटनगरमा विद्यार्थीले प्रदर्शन गरेका छन् ।

निजी विद्यालयले आफूखुशी कानुनविपरीत शुल्क संकलन गरेको र शिक्षक छनोट पारदर्शी हुन नसकेको जनाउँदै बुधबार विद्यार्थीको एक समूहले मोरङको रंगेली नगरपालिका र नगरपालिकाको शिक्षा शाखामा ज्ञापन–पत्र बुझाएको थियो।

शिक्षक छनोट पारदर्शी नगरी आफ्नो नजिकको ब्यक्तिलाई विद्यालयमा नियुक्ति दिलाएको आरोपसँगै बुझाइएको ज्ञापन–पत्र बेवास्ता गरिएपछि विद्यार्थीको समूहले रंगेली नगरपालिकाका कार्यवाहक मेयर तथा रंगेली ८ नम्बरका वडाध्यक्ष ढकप्रसाद आचार्यसहित प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि बिहीबार हातपात गरेको थियो।

सोही क्रममा प्रहरीले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सदस्य तथा नेविसंघका सदस्य यादवसहित अन्यलाई प्रहरीले पक्राउ गरेको थियो।

विद्यार्थीले शुक्रबार दिउँसो विराटनगरको रोडषेश चौकमा केहीबेर यातायात अवरुद्ध बनाउँदै प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा विद्यार्थी समूहले पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्नुपर्ने र मुद्दा चलाउन नपाइने माग राखेका छन्।